वासिंटन डिसीस्थित विश्व बैंक मुख्य कार्यालयका कर्मचारीबाट व्यक्तिगत रूपमा नेपालका भूकम्प पीडितका लागि २ लाख अमेरिकी डलर (२ करोड रूपैंया) भन्दा बढी सहयोग संकलन भएको छ।
विश्व बैंक मुख्य कार्यालयमा कार्यरत नेपाली कर्मचारीको अगुवाईमा भएको सहयोग संकलनमा उक्त रकम उठेको हो। सहयोग संकलनका लागि तोकिएको समयभन्दा एक दिन अघिसम्म २ लाख ६ हजार डलर उठिसेको थियो बैंकको मूख्य कार्यालयमा कार्यरत नेपाली कर्मचारीले भने, ‘अन्त्यसम्म कति आयो यो थाहा भएको छैन रकम अझ वढेको हुनुपर्छ।’
यसरी उठेको रकममा विश्व बैंकका तर्फवाट शतप्रतिशत थप्ने प्रावधान छ। यस अनुसार व्यक्तिगत तवरमा नेपालका भूकम्प पीडितका लागि ४ करोड रूपैंया भन्दा बढी प्राप्त भएको ती कर्मचारीले बताए।
कुनै पनि देशमा दैवी प्रकोप आउँदा यसरी सहयोग संकलन गर्ने प्रचलन छ। बैंक कर्मचारीबाट सम्भवतः त्यती धेरे रकम उठेको हो यो पहिलो पटक हो। उठे जति रकममा बैंकका तर्फवाट त्यत्तिनै थप्ने गरिन्छ। दुई सातासम्म रकम संकलन गर्न पाइने हुन्छ।
यो रकम अमेरिकी रेडक्रस मार्फत नेपाल जाने छ। सिधा नेपाल सरकार वा प्रधानमन्त्री राहत कोषमा रकम हाल्दा अमेरिकामा कर छुट नहुने भएकाले यो अमेरिकी रेडक्रस मार्फत पठाउनु परेको हो।
वासिंटन डीसीस्थित नेपाल दूतावासले भूकम्प पीडितको सहयोगका लागि उठ्ने रकममा कर छुट दिन अमेरिका सरकारसँग अनुरोध गरेको छ। यहाँ प्रचलित कानुन अनुसार दर्ता हुने सामाजिक संस्थालाई दिने चन्दामा कर छुट सुविधा पाइन्छ। कर छुटको सुविधा पाए नेपाली समुदायबाट पनि सरकारी कोषमा जाने गरी करोडौ रूपैंया संकलन हुन सक्छ।
विश्व बैंक मुख्य कार्यालयमा झण्डै ४ दर्जन नेपाली मुलका कर्मचारी कार्यरत छन्। बैंकका झण्डै १५ सय कर्मचारीबाट उक्त रकम उठेको हो। नेपाल समेत हेर्ने बैंकका बोर्ड सदस्य रेयोनाल्ड सिलावाङले सहयोग संकलनका लागि विशेष सकृयता देखाएका थिए।
उनले विभिन्न विभागका कर्मचारीलाई सहयोगका लागि आग्रह समेत गरेका थिए। वासिंटनस्थित नेपाल राजदूत अजुर्न कार्कीपनि विश्व बैंक कार्यालयमा गई सहयोगका लागि आग्रह गरेका थिए।
विश्व बैंकले औपचारिक रूपमा नेपाललाई विशेष महत्व दिएको छ। त्यहाँ कार्यरत कर्मचारीका अनुसार ठूलो भुकम्प गए लगत्तै नेपालको अवस्थाका बारेमा बैंक भित्र उच्च तह सम्मलित विशेष वैठक भएको थियो। त्यहाँ नेपालको अवस्थाका वारेमा छलफल गरिएको थियो। नियमित बाहेक हाल प्रतिकुल अवस्थामा नेपाललाई के कस्तो सहयोग आवश्यक छ, यसबारेमा छलफल गर्न विश्व बैंक टोली नेपाल भ्रमणमा गएको छ।
सरकारको आवश्यकता अनुसार नै विश्व बैंक सहयोग गर्ने पक्षमा रहेको ती कर्मचारीले बताए। त्यही भएर बैंकको टोली नेपाल गएको हो उनले भने। नेपालले आयोजना गर्ने तयारी गरिरहेको दातृ निकायको सम्मेलनसम्म सहयोग रकम कति हुने यो तय हुने छ।
विश्व बैंक नेपालको मुख्य दातृ निकाय हो। शिक्षा, पुर्वाधार विकास निमार्ण, गरिबी निवारण लगायतका क्षेत्रमा बैंकको लगानी छ।
बैंक विश्व दक्षिण एशिया हेर्ने उपाध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारीहरू नेपालको यो संकटको अवस्थामा बढी सहयोग दिनुपर्छ भन्ने पक्षमा रहेको पनि ती कर्मचारीले जानकारी दिए।
Source: http://global.setopati.com/america/694/
No comments:
Post a Comment