सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्दै टुँडिखेलमा १७ दिनदेखि आमरण अनशनरत चार युवाहरुले बुधबार जुसको सट्टा पञ्चामृत खाएर अनशन तोडेका छन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको प्रतिनिधित्व गर्दै कानुन, न्याय संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लिखित पत्र पढेर सुनाएपछि उनीहरुले अनशन तोडेका हुन्।
जगतगुरु बालशन्त मोहनशरण देवाचार्यले अनशनकारी युवालाई पञ्चामृत पिलाएर अनशन तोडाएका हुन्। हिन्दू युवा मञ्चको तर्फबाट विभिन्न नौबुँदे माग राखी कमलप्रसाद जोशी, प्रेमनिधि भारद्वाज, सागर कटुवाल र खेमनाथ आचार्य अनशन बस्दै आएका थिए।
प्रधानमन्त्री कोइरालाले अनशनरत चारै जना युवालाई सम्बोधन गरी पठाएको पत्र मन्त्री आचार्यले वाचन गर्दै हाल संविधानसभाबाट पारित हुन थालेको ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ ले सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रताको रक्षाको विषयलाई महत्वपूर्ण संवैधानिक दायित्व बनाएको बताए।
प्रधानमन्त्री कोइरालाले पत्रमार्फत अनशनमा बसेका होनहार युवाको जीवन रक्षा गर्न र स्वास्थ्य स्थिति बिग्रन नदिन अविलम्ब अनशन तोड्न सहयोगको अपेक्षा गर्दै अभियानले उठाएका सनातन हिन्दू राष्ट्र नेपाललगायतका विषयमा संवाद चालु रहने पनि विश्वास दिलाएका थिए।
राष्ट्रिय हिन्दू युवा मञ्चले संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने, गौहत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनतः बन्द हुनुपर्नेलगायत नौबुँदे माग राखी अनशन बस्दै आएका थिए ।
राष्ट्रिय हिन्दू युवा मञ्चले प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशन तोड्नका लागि आधिकारिक पत्र प्राप्त भएकाले सरकारको वचनबद्धतालाई विश्वास गर्दै धर्मगुरु र धार्मिक संस्थाको समुपस्थितिमा अनशन आजैबाट स्थगित गरेको अनशनरत चारै युवाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
अनशनकारी चारै जनाले अनशन तोड्दै सरकारले आफ्ना माग पूरा गर्ने विश्वास व्यक्त गर्दै यदि त्यसो नभए सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि सडक सङ्घर्ष गर्ने बताए। रासस
No comments:
Post a Comment