बन्दले ग्यास सकियो

काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास सकिएको छ। ४० दिनदेखिको तराई बन्दले ग्यास आयातमा भइरहेको समस्या र पछिल्लो ५ दिनको नाकाबन्दीपछि उपत्यकामा ग्यास सकिएको हो। नेपाल आयल निगमले अहिले नेपालमा कत्ति पनि ग्यास नभएको जनाएको छ। २ सय बढी ग्यास बुलेटहरु सीमापारि नै भएको जानकारी दिँदै निगमका प्रवक्ता दिपक बरालले नेपालमा ग्यास सकिएको उल्लेख गरे।

Image result for LP Gas
उपभोक्तालाई भएको ग्यास सदुपयोग गर्दै वैकल्पिक उपायतिर लाग्न निगमले आग्रह गरेको छ। विजुली बत्तिको प्रयोगबाट राइस कुकर चलाउने, गुइँठाको प्रयोग गर्ने तथा सम्भव भएसम्म दाउराको पनि प्रयोग गर्न निगमले आग्रह गरेको छ। 
 
निगमसित मात्रै होइन नेपाल ग्यास उद्योगीहरुसित पनि ग्यास कत्ति पनि छैन। ग्यास उद्योग व्यवसायी संघका उपाध्यक्ष कुशप्रसाद मल्लीले सेतोपाटीसित कुराकानी गर्दै उद्योगीहरुसित ग्यास शून्य रहेको जानकारी दिएका छन्। ‘४० दिनदेखि नै ग्यास आयात कम भइरहेको थियो, त्यसमाथि नाका बन्द भएपछि ठप्प भयो, अहिले हामीसित ग्यास कत्ति पनि छैन’ उनले भने। 
भूकम्पपछि उद्योगीहरुसित प्रयाप्त मात्रामा ग्यास स्टक रहन नसकेको जानकारी दिँदै उनले अहिले सबैजसो उद्योगीहरु रित्तै रहेको बताए। 
 
ग्यास विक्रेताहरुले पनि आफूहरुसित अहिले ग्यास सकिएको दावी गर्छन्। भूकम्प र चाडपर्वलाई लक्षित गर्दै कतिपय उपभोक्ताले धेरै स्टक राख्नु र ग्यास आउन नसक्दा ग्यास रित्तिएको विक्रेताहरुको भनाई छ।  ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले अधिकांश विक्रेताहरुसित ग्यास नभएको दावी गरे। ‘विक्रेताहरुले ग्यास नभएरै नदिएको हो, यदि कसैले ग्यास भएर पनि उपभोक्तालाई दिँदैन भने हामी पनि कारबाही गर्छौँ’ उनले प्रतिबद्धता जनाए। अहिलेको अवस्थामा कुनै पनि विक्रेताले उपभोक्तालाई कुनै पनि वहानामा ठग्न नहुनेमा उनले जोड दिए। 
 
यसैबीच उपत्यकामा ग्यासको चरम अभाव हुने संकेत देखिएपछि सम्वन्धित विज्ञहरुले वैकल्पिक उपाय अपनाउन उपभोक्तालाई आग्रह गरेका छन्। दाउरा, विजुली बत्ति, गोबर ग्यास लगायत विकल्पहरु उपभोक्ताले अपनाउनुपर्नेमा उनीहरुको जोड छ। ग्यास उद्योग संघका उपाध्यक्ष मल्लीले वैकल्पिक उपायहरु अवलम्वन गर्नुको विकल्प नरहेको बताउँछन्। तुरुन्तै नाका खुल्ने हो भने पनि ग्यासको व्यवस्थापन गर्न केही साता लाग्ने उनले बताए। 
 
नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले वैकल्पिक उपायहरु अवलम्वन गरी ग्यासको खपत घटाउन आग्रह गर्छन्। त्यस्तै कसैले पनि ग्यास अनावश्यक भण्डारण गर्न नहुनेमा उनले जोड दिन्छन्। 

अघोसित नाकावन्दी विरुद्ध संघर्ष

nepal-indian-embassyमानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसाका लागि कार्यरत संस्था मानव अधिकार तथा शान्ति समाजले भारतले अघोसित रुपमा गरेको नाकावन्दी विरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ । 

यस वर्षको अहिंसा दिवस (२ अक्टोबर) को अवसरमा समाजले त्यसविरुद्ध नागरिक सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । यसैको विरोधमा समाजले सोमबार अपरान्ह ४ बजे भारतीय दुतावास अगाडि मैनवत्ति सहित धर्ना दिने भएको छ । उसले नाकावन्दी निरन्तर रहे त्यसको विरुद्ध सत्याग्रह थालिने समेत चेतावनी दिएको छ । समाजले कुनै पनि अभियान–आन्दोलन वा संघर्षका कार्यक्रमलाई प्रक्षेपण गर्दा आमनागरिकलाई पीडा पु¥याउने, उनीहरूको जीवनलाई कष्टकर बनाउने र अभाव सिर्जना गरेर हाहाकार मच्चाउने खालका नाकाबन्दीको कार्यक्रम कसैले पनि गर्न नहुनेमा जोड दिँदै दवाव सिर्जना गर्ने नाममा भारतले नाकाबन्दीको घोषणा गरेर मानवलाई प्रताडित गर्नु मानवताविरुद्धको अपराध भएको ठहर गरेको छ । समाजले भारतले आफ्नो असन्तुष्टि पोख्न गरेको नाकाबन्दीको शान्ति समाज निन्दा समेत गरेको छ ।