संविधानसभामा फर्कन फोरम लोकतान्त्रिकले राख्यो शर्त

संविधान निर्माण प्रक्रियामा विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधान सभामा सहभागी हुने संकेत देखिएको छ। आफ्ना चार बुँदे माग राख्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणमा प्रक्रियामा सहभागी हुने संकेत दिएको हो।

संविधानको विधेयकमाथि मतदान भइरेका बेला प्रमुख तीन दलले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि संविधान निर्माणमा सहभागी गराउन प्रयास गरिरहेका छन्। प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले फोरम लोकतान्त्रिकका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गर्दै प्रक्रियामा सहभागी हुन आग्रह गरिरेहका छन्। यसैबीच लोकतान्त्रिक फोरमले आफ्नो पार्टीले राखेका चार शर्त पुरा भए आफूहरू पनि प्रक्रियामा सहभागी हुने जनाउ दिएको छ। 

सीमांकन फेरबदल गर्नुपर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण सम्वन्धी अन्तरिम संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र प्रदेशमा कामकाजको भाषा स्थानीय भाषा राख्न पाउने व्यवस्था गर्नुपर्ने सर्त पुरा भए आफूहरू संविधान निर्माण प्रक्रियामा सहभागी हुने फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताए। चौधरीले भने, ‘माथिका चार बुँदे मागबारे तीन दल सकारात्मक भए हामी संविधान सभामा आउँछौ। नियमावली निलम्बन र संशोधन गर्ने भए हामी आउन तयार छौ। यसबारे तीन दलको कुनै जवाफ नआए आफुहरू जाँदैनौं।’ यसैबीच प्रक्रिया अगाडि बढिसकेको अवस्थामा फेरि नियमावली संशोधनमा फर्कने सम्भावना छैन। तीन गते संविधान जारी गर्ने मितिसमेत सार्वजनिक भइसकेको अवस्थामा दलहरू पछाडि फर्कन सक्ने स्थिति छैन। यद्यपी वार्ता जारी राखेका छन्।

नयाँ संविधान असोज ३ गते

नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्।
नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी गर्न राष्ट्रपति डा. रामवरण यादवलाई निम्तो दिन जाने तयारी गरेको बताए।
यसका लागि आजै साँझ सभाध्यक्ष नेम्वाङ राष्ट्रपति निवासमा जाने कार्यक्रम रहेको कुइँकेलले सेतोपाटीलाई बताए।
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ । 
लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन् ।